रसुवा बाढी अपडेट : मृतकको संख्या ६६९ पुग्यो
काठमाडौं । रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६६९ पुगेको छ। नेपाल प्रहरीले दिएको पछ्रिल्लो जानकारी अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव फेला परेका छन् । प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् ।
चितवनमा मात्रै २४८ शव फेला परेका छन् । यस्तै नवलपरासी पूर्वमा १५८, गोरखामा ५४, धादिङमा ४९, नवलपरासी पश्चिममा ७५, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ शव फेला परेको प्रहरीले जनाएको छ ।
बाढी तथा त्यसबाट सिर्जित विपद्बाट प्रभावित क्षेत्रबाट शनिबारसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार रसुवाबाट ६७६, नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट तीन जनाको उद्धार गरिएको हो । यसैबीच, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचार तथा डिस्चार्ज भएका घाइतेको संख्या १४० पुगेको प्रहरीले जनाएको छ ।
त्यस्तै पहिचान नखुलेका २२८ शव देवघाटको जङ्गलमा व्यवस्थापन गर्ने तयारी गरिएको छ । शव व्यवस्थापनमा समस्या आएका कारण शव गाड्नु पर्ने अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ ।












