sevenstartv.com ७ भदौ २०८३, आइतवार

‘५०० दिनभित्र सुकुम्बासीलाई लालपूर्जा दिन्छौँ, त्यतिञ्जेल म अबिर-खादा लगाउँदिनँ’

७ भदौ २०८३, आइतवार स्टार संवाददाता

काठमाडौं । सामान्य प्रशासन तथा भूमिसुधार मन्त्री प्रतिभा रावलले देशैभरिको सुकुम्बासी समस्या ५०० दिनभित्र समाधान गर्ने घोषणा गरेकी छन् । कञ्चनपुरमा स्थानीय सुकुम्बासी बस्तीका बासिन्दाहरूलाई सम्बोधन गर्दै उनले सरकार गठन भएको पहिलो दिनदेखि नै आफू यसै कार्यमा लागिपरेको बताइन् ।

सम्बोधनका क्रममा मन्त्री रावलले नेताहरूलाई काम नगरी जनताले सम्मान गर्ने प्रवृत्तिको विरोध गरिन् । आफूलाई स्वागत गर्न तयार पारिएको अबिर र खादालाई अस्वीकार गर्दै काम गरेपछि मात्रै सम्मान थाप्ने बताइन् ।

रावलले भनिन्, ‘तपाईँहरूको समस्या समाधान गरेर आएपछि मात्र म अबिर र खादा लगाउँछु । काम नगरी सम्मान लिनुको कुनै अर्थ छैन ।’ उनले आफ्नो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) वा अन्य कुनै पनि दलका नेतालाई काम पुरा नभई सम्मान गर्न हतार नगर्न आग्रह गरिन् ।

सुकुम्वासीमा रहेको विस्थापनको त्रासलाई सम्बोधन गर्दै मन्त्री रावलले कसैलाई पनि बिना विकल्प नउठाइने आश्वासन दिएकी छन् ।
‘डोजर लगाइदिने पो हुन् कि भन्ने त्रास नपाल्नुस्, कानूनसम्मत तरिकाले जसले लालपुर्जा पाउनुपर्ने हो, उहाँहरूले पाउनुहुन्छ,’ उनले भनिन्, ‘केही जग्गाहरू नकारात्मक सूचीमा परेको भए पनि नीतिगत परिवर्तन गरेर भए पनि समाधान खोजिन्छ ।’

मन्त्री रावलले सुकुम्बासी र सहकारी पीडितको समस्या सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै ५०० दिनभित्र लालपुर्जा वितरणको काम सम्पन्न गर्ने लक्ष्य सुनाइन् । भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरूलाई प्रक्रिया पुर्‍याएर भूमिको मालिक बनाइने उनको दाबी छ ।

‘विषय जटिल र संवेदनशील छ, कतिपय कानूनी अड्चनहरू पनि छन्,’ उनले भनिन्,’तर हामी ‘डे वान’ देखि यसमा खटिएका छौँ । यो विषयलाई कसैको ‘चुनावी फण्डा’ बन्न दिने छैनौँ । सरकारले काम गरिरहेको छ, अबको केही समय धैर्य धारण गरिदिनुहोला ।’

मन्त्री रावलले अर्को पटक आउँदा काम सम्पन्न भएको खुसीयालीमा मात्र अबिर र खादा साटासाट गर्ने बताइन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्