सहकारी बचत रकम दुरुपयोग भएको सम्बन्धमा प्रतिवेदनलाई आधार बनाएर कारबाही गर्छौं : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी बचत रकम दुरुपयोग भएको सम्बन्धमा प्रतिवेदनलाई आधार बनाएर कारबाही अघि बढाइने बताएका छन् ।
आज गणेशमान सिंहको २७ औँ पुण्य तिथिमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले संसदमा प्रतिवेदन पेश गरिसकेको र सभामुख देवराज घिमिरेले पनि सरकारलाई समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिइसकेको भन्दै अब सोही प्रतिवेदनलाई आधार बनाएर सरकारले कारबाही शुरु गर्ने बताएका हुन् ।
उनले भने, ‘अस्ति हाम्रो पाल्र्यामेण्ट बैठकमा विशेष छानविन समितिले रिपोर्ट पेश गरेको छ । अब सभामुखले सरकारलाई कार्यान्वयनमा लैजानका लागि निर्देशन दिनुभएको छ । सरकारले रिपोर्टको अध्ययन गरेर, संसदीय समितिले रिपोर्ट दिएकाले त्यो सुझावलाई आधार मानेर मन्त्रीपरिषद्मा छलफल भएर चाँडै नै विधि र प्रक्रियाअनुसार अघि बढ्छ ।'


















