रास्वपाको राष्ट्रिय भेला सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को केन्द्रीय परिषदको राष्ट्रिय भेला आजबाट सुरु भएको छ ।
दुई दिनसम्म काठमाडौंको प्रज्ञा भवन कमलादीमा चल्ने भेलामा सहभागी हुन देशभरबाट एक हजार पाँच सय प्रतिनिधि सहभागी हुँदैछन् । प्रतिनिधिहरु आउने र दर्ता गर्ने क्रम जारी छ ।
राष्ट्रिय भेलाको उद्घाटन अहिले सभापति रवि लामिछानेले गर्नेले जनाइएको छ । भेलामा विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ । आज पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेश गरिनेछ ।
विधान संशोधन, नीति-विचार, मूल्य-मान्यता, क्यान्डिडेट क्वल र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ । भेलाको दोस्रो दिन प्रस्तुत सबै प्रतिवेदन र प्रस्ताव उपर समूहगत छलफल हुनेछ ।
सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला भोलि नै सकिनेछ । भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव हिजो बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको छ ।
राष्ट्रिय भेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन रास्वपाले पार्टी पंक्तिलाई आग्रह गरेको छ । पार्टीलाई थप सुदृढ र जनपक्षीय बनाउन भेला सफल हुने नेताहरुले विश्वास व्यक्त गरेका छन् ।











