sevenstartv.com ११ भदौ २०८३, बिहिवार

सहकारीको बचत हिनामिनामा रवि लामिछाने दोषी

३१ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने दोषी देखिएका छन् । गोर्खा मिडिया नेटवर्कमा ठूला तीन सहकारीको रकम ल्याएको विषयमा सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले सभापति  लामिछानेलाई दोषी देखाएको हो ।

गोर्खा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुईवटा बैंकमा संयुक्त खाता सञ्चालन गरिरहेको भेटिएको जनाइएको छ । समितिले गोर्खा मिडिया नेट्वर्कले खोलेको ग्यालेक्सी टेलिभिजन सञ्चालनका लागि देशका तीन ठूला सहकारीबाट ८१ करोड रुपैयाँ बढी भिर्‍याएको पनि भेट्टाएको छ ।

लामिछाने प्रबन्ध निर्देशक रहेकै समयसम्म पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारीबाट ८१ करोड ३१ लाख रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा भित्रिएको समितिले ठहर गरेको छ । समितिले यस प्रकरणमा रविसँगै ९ जनालाई कारबाही गर्नुपर्ने आधारसहितको प्रतिवेदनमा आज संसदमा पेश गर्दै छ । गोर्खा मिडियाका तत्कालीन अध्यक्ष जीबी राई हाल मलेसियामा लुकेको बताइएको छ ।

समितिका सभापति सूर्यबहादुर थापा क्षत्रीले तीन महिना १५ लिन लामो अनुसन्धानपछि तयार पारिएको प्रतिवेदन सभामुख देवराज घिमिरेलाई प्रतिवेदन सोमबार बुझाउन लागेका हुन् । एमाले सांसद् थापाको नेतृत्वमा जेठ १५ गते गठन भएको संसदीय छानबिन समितिले जेठ २२ गतेदेखि आफ्नो काम थालेको थियो । शुरुमा तीन महिनाको समय पाएको समितिको भदौ २२ गतेसम्म प्रतिवेदन तयार नभएपछि १५ दिन समय थपिएको थियो ।

समितिले सहकारीसम्बद्ध सरोकारवाला, सरकारी निकाय, ठगी भएका भनिएका सहकारीका वर्तमान र पूर्व पदाधिकारी, सहकारी ठगीको आरोप लागेका विभिन्न व्यक्तिहरूसँग गरी ६३ वटा बैठक गरेको थियो । समितिले शनिबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो । 

सम्बन्धित समाचार