'कांग्रेस र एमाले मिलेर भ्रष्टाचारी जोगाउन रातारात सरकार ढाले'
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमाले मिलेर रातारात षड्यन्त्रमूलक ढंगले आफू नेतृत्वको सरकार ढालेको भन्दै आपत्ति जनाएका छन् ।
आज झापामा आयोजित कार्यक्रममा उनले संसारमा सामान्य रूपमा हुँदै नहुने कुरा गरेर रातारात आफ्नो सरकार हटाएको बताएका हुन् । उनले संसारमा कतै पनि संसदका दुई ठूला दल मिलेर सरकार नबनाउने भन्दै भ्रष्टाचारीलाई जोगाउनकै लागि कांग्रेस र एमाले मिलेको बताए ।
उनले भने, ‘नक्कली भूटानी शरणार्थीसँग सम्बन्धित फरार अभियुक्तहरू गिरफ्तार गरिएपछि र गिरिबन्धु टी स्टेटको बारेमा अदालतको फैसलाका आधारमा अघि बढ्ने जमर्को गर्दागर्दै खतराको सुई बूढानीलकण्ठ र बालकोटतिर सिधै सोझियो । दुईजनालाई गिरफ्तार गर्दा अन्तिममा सिधै त्यसको तार बालकोट र बूढानीलकण्ठतिर जोडियो । र रातारात षड्यन्त्रमूलक ढंगले संसारमा सामान्य रुपमा हुँदै नहुने प्रतिनिधि सभाको सबैभन्दा ठूलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने काम भयो ।’











