sevenstartv.com ६ भदौ २०८३, शनिवार

कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको सहकार्य नै परिवर्तनको आधार : केपी शर्मा ओली

७ साउन २०८३, बिहिवार स्टार संवाददाता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट र लोकतान्त्रिक शक्तिको सहकार्य नै परिवर्तनको आधार हुने बताएका छन् । 

नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्वहरू पुष्पलाल श्रेष्ठ र विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको स्मृति दिवसमा भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । त्यसक्रममा अध्यक्ष ओलीले नेपालको सामाजिक र राजनीतिक परिवर्तनमा दुवै नेताको अतुलनीय योगदान रहेको स्मरण गरे ।अध्यक्ष ओलीले पुष्पलाल श्रेष्ठलाई केवल कम्युनिस्ट पार्टीका संस्थापक महासचिवका रूपमा मात्र नभई इतिहासको नयाँ व्याख्याता र राजनीतिक साहित्यका प्रखर विश्लेषकका रूपमा चित्रण गरे । पुष्पलालले राजनीतिक आन्दोलनलाई जनताको दैनिक जीवन, विशेषगरी मजदुर र किसानका समस्यासँग जोड्ने काम गरेको भन्दै शहीद गङ्गालाल श्रेष्ठका भाइ पुष्पलालले आफ्ना दाजुबाट प्राप्त प्रेरणाकै आधारमा जीवनभर परिवर्तनका लागि सङ्घर्ष गरेको ओलीले स्मरण गरे ।त्यसैगरी, ओलीले बीपी कोइरालालाई बहुआयामिक व्यक्तित्व र नेपाली राजनीतिको शिखर व्यक्तित्वका रूपमा स्मरण गरेका छन् । पुष्पलाल र बीपी कोइराला दुवैले आ–आफ्नो ठाउँबाट मुलुकको रूपान्तरणमा पुर्‍याएको योगदानलाई सम्मान गर्दै उनीहरूका असल कार्यबाट सिक्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । 

तत्कालीन समयमा निरङ्कुश पञ्चायती व्यवस्था र राजतन्त्र विरुद्ध लोकतान्त्रिक र प्रगतिशील शक्ति मिल्नुपर्छ भन्ने पुष्पलालको नीति सुरुमा स्वीकार नगरिए पनि पछि २०४६ सालमा त्यही नीति नै परिवर्तनको मुख्य आधार बनेको ओलीको भनाइ छ । 

‘अहिले आन्दोलनले केही धक्का महसुस गरे तापनि अग्रज नेताहरूको दीर्घकालीन सोच, दूरदृष्टि र दृढताबाट प्रेरणा लिएर आन्दोलन फेरि सशक्त रूपमा अगाडि बढ्न सकिन्छ’, ओलीले भने, ‘बीपी कोइरालाको जेल जीवन र पुष्पलालको निर्वासन कालले नेपाली राजनीतिलाई सधैँ ऊर्जा र प्रेरणा प्रदान गरिरहने छ ।’

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्