आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा १४ खर्ब ८० अर्बको वैदेशिक व्यापार
११ खर्ब व्यापार घाटा
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब ११ खर्बको व्यापार घाटा बेहारेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार उक्त अवधिमा कुल १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाखको कुल वैदेशिक व्यापारमा मुलुकले १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख घाटा बेहोरेको हो ।
पछिल्लो आठ महिनामा १२ खर्ब ८९ अर्ब २५ करोडको आयात र एक खर्ब ९१ अर्ब ११ करोड २० लाख बराबरको निर्यात भएको विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १२ दशमलव ५४ र निर्यात २९ दशमलव ८३ प्रतिशतले बढेको छ । गत फागुन मसान्तसम्ममा भारतसँगको व्यापार घाटा मात्र रू पाँच खर्ब ६७ अर्ब ३९ करोड छ ।
यस अवधिसम्ममा भारतबाट रू सात खर्ब २४ अर्ब छ करोडको वस्तु आयात भएको छ भने रू एक खर्ब ५६ अर्ब ६६ करोड बराबरको निर्यात भएको छ । नेपालको वैदेशिक व्यापारमा नाफा भएका मुलुकमा भने रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर, इराक, केन्यालगायत छन् । यस अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । नेपालले बढी निर्यात गरेका वस्तुमा भटमास तेल पहिलो स्थानमा छ ।



-18.jpg)








