एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको अझै पहिचान खुलेन
काठमाडौं । एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको पहिचान अझै नखुलेको बताइएको छ ।
दुर्घटनामा परेका चिनियाँ नागरिकको परिवारबाट तथ्य संकलनमा ढिलाई भएपछि पहिचान खुल्न नसकेको हो । चिनियाँ पर्यटक जुदाड टाङ (पुरुष), जी ली (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) को शव पहिचानका लागि अझै तथ्याङ्क संकलनको काम भइरहेको बताइएको छ ।
मृतकको शवको पहिचान डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट (पोस्टमार्टम) पहिचान गरिन्छ । आफन्तबाट मृतकको पहिचान विवरण संकलन हुन सकेको छैन । डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम गर्दा सुरुमा शव पहिचानका लागि फिंगर प्रिन्ट, डेन्टल (दाँतको भाग) र शरीरमा स्थायी रूपमा बनेका सङ्केतहरू (खत, ट्याटु आदि), पहिरन, गहना लगायत हेरिने छ ।
गत साउन २३ गते बुधबार दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा परी क्याप्टेन अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको थियो । मल्लको शव भने परिवारलाई जिम्मा लगाइएको छ ।













