सभापति लामिछाने समातिएपछि सडकमा उत्रियो रास्वपा
काठमाडौं । सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कार्यकर्ताले प्रदर्शन थालेका छन् । बिहानैदेखि मानव अधिकार चोकमा रास्वपा कार्यकर्ताको सहभागिता बाक्लिन थालेको छ । पोखरामा उपलब्ध केन्द्रीय पदाधिकारी र नेताहरु छलफलमा जुटेका छन् ।
छलफल सकिनासाथ पूर्ण प्रदर्शन सुरु हुने बताइएको छ । यद्यपि कार्यकर्ताहरुले मानव तस्करहरुलाई कारबाही गर्, सहकारी पीडितलाई न्याय दे, दलाल माफियाहरु होसियार लगायतका प्लेकार्डहरु बोकेर प्रदर्शन सुरु गरिसकेका छन् । पोखरामै आज सहकारी पीडितले पनि प्रदर्शन गर्दै छन् ।
पोखराको गैह्रापाटनमा शान्तिपूर्ण प्रदर्शनको तायारी छ । दुवै पक्षले प्रदर्शनको तयारी थालेपछि रास्वपा कार्यकर्ता र सहकारीपीडित आमनेसामने हुने देखिएको छ ।सम्भावित जोखिमलाई मध्यनजर गर्दै पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौंको माइतीघर मण्डलामा पनि आजै लामिछानेको पक्राउविरुद्ध प्रदर्शन हुँदै छ । त्यसका लागि दिउँसो १ बजे कार्यकर्ता र समर्र्थकहरुलाई उपस्थित हुन भनिएको छ । सुरक्षा तैनाथि बिहानैदेखि बाक्लो पारिएको छ ।
लामिछानेविरुद्ध हिजो पक्राउ पूर्जी जारी भएसँगै सीआईबीको टोलीलै केन्द्रीय कार्यालय घण्टीघरबाटै पक्राउ गरेर आज बिहान पोखरा पुर्याई प्रहरीको जिम्मा लगाएको हो । प्रहरीका अनुसार आज शनिबार परेकाले लामिछानेलाई भोलि कार्यालय खुलेपछि मात्रै म्याद थपका लागि अदालतमा लगिनेछ। उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान चल्ने प्रहरीले जनाएको छ ।













