sevenstartv.com ९ भदौ २०८३, मङ्गलवार

आज बडादशैंको टीकाको दिन ,बेपत्ता छोराको बाटो हेर्दै गुरुङ दम्पती

२६ असोज २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । आज बडादशैंको टीकाको दिन । गाउँलेहरु हर्षोल्लासका साथ दशैं मनाइरहेका बेला यहाँको नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को मध्यविन्दु–३ ब्रह्मस्थानस्थित बोटे टोलका गुरुङ दम्पतीको आँखा भने आँगन तेर्सो आउने बाटो हेर्दै बितिरहेको छ ।

स्थानीय नन्दे र राजकुमारी गुरुङका जेठा छोरा उत्तम गत साउन २३ गते साँझ घरबाट निस्किएपछि अहिलेसम्म फर्किएका छैनन् । छोरा बेपत्ता भएपछि गुरुङ दम्पतीको घर सुनसान छ ।

विगत तीन वर्षदेखि मिर्गौलाको डायलासिस गराइरहेकी उत्तमकी ५० वर्षीया आमा राजकुमारी गुरुङ छोराको चिन्ताले झनै थलिएकी हुन् ।“घरबाट केही नभनी निस्किएको छोराको अवस्था थाहा छैन”, गहभरि आँसु पार्दै राजकुमारीले भनिन्, “कहाँ गएको हो, आफन्त गाउँलेहरु मिलेर धेरै ठाउँमा खोज्नुभयो । तर छोराको बारेमा केही थाहा पाउन सकिएन ।”

जेठा छोरा बेपत्ता भएपछि दसैँ खल्लो भएको छ । दशैं मनाउने उत्साह नभएको उनले बताइन् । “हिँड्ने बेलामा मोबाइल यहीँ छोडेर हिँडेको रैछ”, उनले भनिन्, “गाउँमा कतै गयो होला भनेर सोचेका थियौँ । एक दिन, दुई दिन गर्दै यत्रो दिन बित्यो छोरा घर फर्किएन ।”

छोरा जहाँ जस्तोसुकै अवस्थामा भए पनि चाँडो घर फर्किन उनले बिन्ती गरिन् ।

उत्तमका ५८ वर्षीय बाबु नन्दे गुरुङलाई छोराले किन घर छाडेर हिँड्यो भन्ने पनि थाहा छैन । “हामी बाउछोरा भएर तरकारीखेतीे, कुखुरापालन तथा बाख्रा व्यावसायिक रुपमा पाल्दै आएका थियौँ”, उनले भनिन् “दिनभरि सँगै काम गरेका थियौँ, त्यस्तो नराम्रो केही भएको पनि थिएन, बेलुकी घरबाट बाहिर निस्केको छोरा अझै फर्किएन ।”

छोराको खोजी गर्न धेरै ठाउँ पुगेको र प्रहरी, सङ्घसंस्थासँग गुहार माग्दासमेत नभेटिएको गुरुङको भनाइ छ ।

नन्देका बाबुछोरा नै वैदेशिक रोजगारका लागि पाँच वर्ष दुबईमा बसेर स्वदेश फर्किएपछि व्यावसायिक पुशपालन गर्दै आएका छन् । पत्नी बिरामी आएपछि वैदेशिक रोजगारी छोडेर दुवै जना फर्किएका थिए ।

“घरको हरेक कामकाजमा सघाउँदै आएको जेठो छोरो बेपत्ता भएपछि कुन खुसीले दसैँ मनाउनु खै”, मलीन मुद्रामा नन्देले भने, “अझै पनि छोरा आउँछ कि भनेर बाटो हेर्दैमा दिनरात कटाउने गरेका छौँ ।”

छोरा घर फर्किएमा सबै खुसी फिर्ता आउने र चाडपर्व रमाइलो हुने आशा गुरुङ दम्पतीको मनमा अझै छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्