परराष्ट्रमन्त्री डा. राणा अमेरिका, क्यानडा र कतारको १९ दिने भ्रमणमा जाँदै
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा तीन देशको १९ दिने भ्रमणमा जाने भएकी छन् । उनी अमेरिका, क्यानडा र कतार भ्रमणका लागि आज साँझ प्रस्थान गर्ने भएकी हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार सबैभन्दा पहिले मन्त्री राणा क्यानडा पुग्नेछिन् । उनी क्यानडाको टोरन्टोमा असोज ३ र ४ गते हुने महिला परराष्ट्रमन्त्रीहरूको बैठकमा सहभागी हुने छिन् । बैठक क्यानडा र जमैका सरकारको सह-आयोजनामा हुन लागेको हो । परराष्ट्रमन्त्री राणाले उक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
परराष्ट्रमन्त्री राणा क्यानडाबाटै असोज ५ गते अमेरिकाको न्युयोर्क जानेछिन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ। सोही प्रतिनिधिमण्डलको सदस्यका रूपमा परराष्ट्रमन्त्री राणा सामेल हुनेछिन् ।
राष्ट्रसंघको महासभामा सहभागी भएपछि न्युयोर्कबाटै परराष्ट्रमन्त्री राणा कतार पुग्नेछिन्। असोज १६ र १७ गते कतारको दोहामा आयोजना हुने एसिया कोअप्रेसन डायलगको तेस्रो शिखर सम्मेलनमा उनी सहभागी हुने कार्यक्रम छ। परराष्ट्रमन्त्री राणा असोज १८ गते स्वदेश फर्कनेछिन्।


















