sevenstartv.com ११ भदौ २०८३, बिहिवार

सुदूरपश्चिम क्षेत्रको विकासका लागि प्रतिबद्ध छु : परराष्ट्रमन्त्री डा. राणा

२६ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू सधैँ लागि पर्ने प्रतिबद्ध रहेको बताएकी छन्।

सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालका पदाधिकारी एवं सदस्य सम्मिलित प्रतिनिधिमण्डलसँग उनले आज यहाँ आफूले विगत लामो समयदेखि सो क्षेत्रका नागरिकको स्वास्थ्य, महिला अधिकार, प्रजनन् स्वास्थ्य तथा सुरक्षित मातृत्व लगायतका क्षेत्रमा काम गर्दै आएको स्मरण गर्दै आफू कुनै सरकारी पदमा हुँदा या नहुँदा पनि यो क्षेत्रको विकास गरी त्यहाँका नागरिकको जीवनस्तरमा सुधार ल्याउने गरी काम गर्ने बताएकी हुन् । 

उनले पछिल्लो समयमा नेपालमा आत्महत्या गर्ने व्यक्तिको सङ्ख्या बढ्दै गएको देखिएको र आत्महत्याको दर अन्यत्रको तुलनामा सुदूरपश्चिममा धेरै रहेको तथ्य बाहिर आएकाले यो अवस्थाको निराकरणका लागि काम गर्न पनि बताएकी छन् । 

मन्त्री डा. राणाले भनीन्, 'अहिले आत्महत्या गर्नेमा १५ प्रतिशत जति २० बर्ष मुनिका युवायुवती रहेका तथ्य बाहिर आएको छ । यो निकै गम्भीर अवस्था हो । सुदूरपश्चिमको अवस्था झन् खराब देखिन्छ । अब हरेक पालिका तथा वडास्तरमै परामर्श केन्द्र राखेर हुन्छ या कसरी हुन्छ मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्नुपर्नेछ । यो उमेर समूहका नागरिकलाई व्यापक मात्रामा परामर्श सेवा दिनुपर्नेछ । यहाँहरु पनि त्यसमा लाग्नुहोला ।'

उनले सुदूरपश्चिम क्षेत्रको विकासका पक्षमा त्यहाँका केही स्थानीय परियोजना तथा नाकाका विषयमा भारत भ्रमणका क्रममा भारतीय उच्च सरकारी तहसम्म कुरा उठाएकामा सो प्रतिनिधिमण्डलले विशेष धन्यवाद ज्ञापन गरेको थियो । 

 

 

सम्बन्धित समाचार